११ असोज २०८३ English
English

महाकाली बढेपछि बनबासा पुलमा सवारी बन्द, धौलीगङ्गाको सिल्ट सफाइ स्थगित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
महाकाली बढेपछि बनबासा पुलमा सवारी बन्द, धौलीगङ्गाको सिल्ट सफाइ स्थगित

YouTube मा सब्स्क्राइब

कञ्चनपुरमा महाकाली नदीको बहाव बढेपछि भारत जोड्ने बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको छ। तीन दिनदेखि लगातार परेको वर्षाले नदीको बहाव बढाएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी टेक रावतका अनुसार बहाव करिब १ लाख ९८ हजार क्युसेक पुगेपछि पुरानो शारदा ब्यारेजको सुरक्षा जोखिम हेरेर नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारी रोकिएको हो।

बहाव १ लाख क्युसेक नाघेपछि गड्डाचौकी–बनबासा नाकाबाट मालवाहक र यात्रुवाहक चारपाङ्ग्रे सवारी रोक्ने गरिएको छ। यसैबीच भारतको धौलीगंगा बाँधबाट पानी छोडेर असोज ११ र १२ गते गरिने सिल्ट सफाइ कार्यक्रम स्थगित भएको छ। थप पानी छोड्दा तल्लो तटीय क्षेत्रमा जोखिम बढ्ने भएपछि भारतीय पक्षले तत्काल बाँध नखोल्ने निर्णय गरेको हो।

धारचुलाका उपजिल्लाधिकारी आशीष जोशीले उच्च जलस्तरले खतरा तह पार गर्न सक्ने भन्दै धौलीगंगा पावर स्टेसनलाई अर्को मिति तय गर्न पत्र पठाउनुभएको छ। बाँध खोल्नुअघि भारतीय पक्षले फेरि सूचना दिने दार्चुलाका प्रमुख जिल्ला अधिकारी बर्तराज पौडेलले बताउनुभएको छ। उहाँका अनुसार टिंकर, छाङ्ग्रु र खण्डेश्वरीमा हिमपात भइरहेको छ।

पहिरोको जोखिमका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा छोटो र लामो दूरीका सार्वजनिक सवारी सोमबार बिहानसम्म बन्द रहनेछन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिमका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा र तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि विभागले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार