राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित ९ नेताले पार्टी छाडे

महासचिव केशवकुमार झासहित ९ केन्द्रीय नेताले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल परित्याग गर्नुभएको छ। पार्टी छाड्नेमा कुमारी तामाङ, हिरालाल मण्डल, रिषिका जलान, चन्द्रानन्द मिश्र, ललन मिश्र, अनुपम झा, पंकजकुमार देव र शैशव राजु हुनुहुन्छ। उहाँहरूले शुक्रबारदेखि लागू हुने गरी पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यतासमेत त्याग्नुभएको छ।
पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी चलाउने शैलीप्रति असन्तुष्टि जनाउँदै उहाँहरू अलग हुनुभएको हो। उहाँहरूको विज्ञप्तिअनुसार हालका राजनीतिक घटनाले पुरानै शैली र पुराना अनुहारबाट मुलुकको राजनीति अघि बढ्न नसक्ने देखाएको छ। धेरै सङ्घर्ष र आन्दोलन भए पनि नागरिकका न्यूनतम आवश्यकता पूरा नहुँदा जनता निराश बनेको विज्ञप्तिमा उल्लेख छ।
मातृभूमि सुहाउँदो विचारका आधारमा बलियो अर्थतन्त्र बनाउन मद्दत गर्ने अर्थराजनीति अपनाएर अघि बढ्नुपर्ने उहाँहरूको निष्कर्ष छ। सामाजिक र सांस्कृतिक चेतनाका लागि अभियान, राजनीतिक चेतनाका लागि सङ्घर्ष र आर्थिक चेतनाका निम्ति विद्रोहको तयारी गर्ने उहाँहरूको भनाइ छ। महासचिव झाका अनुसार विचारसहितको विकल्प र विकल्पसहितको विद्रोहका लागि उहाँहरूको अबको यात्रा हुंकार मधेस अभियानसँग हुनेछ।
महतोले विभिन्न दल छाडेका र पहिचानवादी धारका नेतालाई समेटेर निर्वाचनअघि यो पार्टी गठन गर्नुभएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


