११ असोज २०८३ English
English

सप्तरीमा ५०० घर डुबानमा, सप्तकोशीको जोखिम कायमै

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सप्तरीमा ५०० घर डुबानमा, सप्तकोशीको जोखिम कायमै

YouTube मा सब्स्क्राइब

सप्तकोशी नदीमा आएको बाढीले सप्तरीका ५०० घर डुबानमा परेका छन्। शुक्रबार राति नदीको जलसतह बढेपछि हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका बस्तीमा पानी पसेको हो। नगरपालिकाका वडा नम्बर ५, ७, १२ र १३ मा ४८३ घर तथा गाउँपालिकाका वडा ४ र ५ मा १७ घर डुबानमा परेका छन्।

यसबाट दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन्। प्रभावितलाई बिहान र बेलुका दुई छाक खाना उपलब्ध गराइएको नगर प्रमुख वीरेन्द्र माझीले बताउनुभएको छ। पानी घटेपछि पीडितको पहिचान गरेर थप राहत दिइने उहाँको भनाइ छ।

कोशी ब्यारेज प्रशासनका अनुसार शनिबार साँझ सवा सात बजे ब्यारेजबाट करिब २ लाख ८७ हजार क्युसेक पानी बगिरहेको थियो। यसअघि बहाव करिब ३ लाख १६ हजार क्युसेकसम्म पुगेको थियो। बहाव क्रमशः घट्दै गए पनि जलसतह खतराको तहमाथि नै रहेकाले ब्यारेजका ३७ वटा ढोका खुला छन्।

बहाव बढेका बेला ४३ वटा ढोका खोलिएका थिए। नदीको जलसतह र बहावमा निरन्तर निगरानी भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभएको छ। कोशीको तल्लो तटीय भेगमा बस्नेहरूलाई विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशीका सहायक नदीहरूमा पनि जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ।

स्रोत

सम्बन्धित समाचार