११ असोज २०८३ English
English

सात राजमार्ग अझै अवरुद्ध, कपिलवस्तुमा पूर्व–पश्चिम राजमार्ग बन्द, कालीगण्डकी पुलको पहुँचमार्ग बग्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सात राजमार्ग अझै अवरुद्ध, कपिलवस्तुमा पूर्व–पश्चिम राजमार्ग बन्द, कालीगण्डकी पुलको पहुँचमार्ग बग्यो

YouTube मा सब्स्क्राइब

बाढी र पहिरोका कारण देशका सात राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने तीन राजमार्ग आंशिक रूपमा मात्र चलेका छन्। सडक विभागको शनिबार राति ८ बजेसम्मको विवरणअनुसार पूर्व–पश्चिम, पृथ्वी, बीपी, राप्ती र कर्णाली राजमार्गसहित तमोर करिडोर र बेसीशहर–चामे सडक बन्द छन्। पृथ्वी राजमार्गमा कृष्णभीर, चौकीभीर, फिस्लिङ र चालिसेलगायत ठाउँमा पहिरो खसेको छ।

बीपी राजमार्गको माम्ती, पिप्ले र कटुञ्जे क्षेत्रमा पहिरो यथावत् छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शनिबार राति करिब ८ बजे दाङ–कपिलवस्तु खण्डको भाइरल डाँडानजिक पहिरो खस्दा पूर्व–पश्चिम राजमार्गमा आवागमन ठप्प छ। अवरुद्ध राजमार्गमध्ये कान्ति लोकपथ भने सुचारु भएको छ।

कालीगण्डकी नदीको बाढीले नवलपुर र तनहुँ जोड्ने मोटरेबल पुलको नवलपुरतर्फको पहुँचमार्ग बगाएको छ। त्यसपछि बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ जोड्ने गण्डकी प्रदेशमार्गमा सवारी र पैदल आवागमन रोकिएको प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभएको छ। यो सडक नवलपुरलाई पोखरासँग जोड्ने सबैभन्दा छोटो मार्ग हो।

लुम्बिनी प्रदेशमा सात मुख्य सडक अवरुद्ध रहेको ट्राफिक प्रहरीले जनाएको छ। गुल्मीको राक्सेमा कालीगण्डकी करिडोर शुक्रबार बिहानदेखि र शिस्नेभीरमा रुद्रबेणी–वामीटक्सार सडक शुक्रबार दिउँसोदेखि बन्द छन्। मदन भण्डारी राजमार्गको छत्रकोट–३ शृङ्गे देउरालीमा पनि पहिरोले बाटो छेकेको छ।

प्रहरीले सडकमा सावधानी अपनाउन आग्रह गरेको छ।

स्रोत

सम्बन्धित समाचार