११ असोज २०८३ English
English

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट दिन बन्द

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट दिन बन्द

YouTube मा सब्स्क्राइब

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी वर्षा र हिमपातको जोखिम देखाउँदै पर्यटकलाई प्रवेशाज्ञा अर्थात् परमिट दिन रोकेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको यो आयोजनाको पोखरास्थित प्रधान कार्यालयको निर्णयअनुसार बिहीबारदेखि परमिट वितरण बन्द गरिएको हो। एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले तीन दिनका लागि परमिट रोकिएको बताउनुभएको छ।

प्रधान कार्यालयको निर्णयमा भने मौसममा सुधार नआएसम्म रोक कायम रहने उल्लेख छ। मुस्ताङ, मनाङ, लमजुङ तथा म्याग्दी र कास्कीको उपल्लो भेग घुम्न जाने पर्यटक यसबाट प्रभावित भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनामा बिहीबारदेखि चार दिन भारी वर्षा र हिमपातको पूर्वानुमान उल्लेख थियो।

आयोजनाले सामान्य अवस्थामा प्रवेश शुल्क अनलाइन प्रणालीबाट उठाउँदै आएको छ। सडक अवरुद्ध भई यात्रा जोखिमपूर्ण भएमा कार्यालयमै उपस्थित पर्यटकबाट शुल्क लिएर सहजीकरण गरिने गुप्तले बताउनुभएको छ। मौसम सामान्य भएपछि सेवा पहिलेकै प्रणालीबाट सुचारु हुने उहाँले जानकारी दिनुभएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा वा हिमपातको सम्भावना छ।

स्रोत

सम्बन्धित समाचार