सरकार सही दिशामा छैन: प्रचण्ड, सांसदलाई जनसम्पर्क र पुनर्निर्माणमा जुट्न निर्देशन

नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सही दिशातर्फ अघि बढ्न नसकेको टिप्पणी गर्नुभएको छ। बिहीबार सिंहदरबारस्थित कार्यालयमा पार्टीका दुवै सदनका सांसद सहभागी संसदीय दलको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। सरकारको करिब ६ महिनाको कामको समीक्षा गर्दा केही काम सकारात्मक देखिए पनि समग्रमा जनहितमा काम हुन नसकेको प्रचण्डको आरोप छ।
सरकारले राम्रो काम गरे सहयोग र नराम्रो गरे आलोचना गर्ने अडान नेकपाले सुरुदेखि लिएको उहाँले स्मरण गराउनुभएको छ। दैनिक उपभोग्य वस्तुको बढ्दो महँगीबारे पार्टीले जनतालाई सचेत र प्रशिक्षित गरिरहेको उहाँले जानकारी दिनुभएको छ। आन्दोलनका विषय पछि आउने बताउँदै उहाँले रसुवा बाढीपछिको विपद् प्रतिकार्यमा नेकपा सबैभन्दा सक्रिय रहेको दाबी गर्नुभएको छ।
बैठकले प्राकृतिक विपत्तिबाट प्रभावितको राहत, उद्धार र पुनर्निर्माणमा दलका तर्फबाट प्रभावकारी पहल गर्ने निर्णय गरेको छ। संसद् अधिवेशन अन्त्य भएसँगै सबै सांसदलाई आआफ्नो निर्वाचन क्षेत्रमा पुगेर जनभेटघाट र जनसरोकारका विषयमा केन्द्रित हुन निर्देशन दिइएको छ। प्रमुख सचेतक युवराज दुलालका अनुसार बैठकमा संसद्को प्रभावकारिता, कानुन निर्माणमा संसदीय समितिको भूमिका र समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरिएको थियो।
संसद् र समितिमा पार्टीले उठाउने विषयलाई थप प्रभावकारी बनाउने उपायबारे पनि छलफल भएको दुलालले बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


