नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र सेनेगलबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्युयोर्कस्थित मुख्यालयमा परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्रमन्त्री शेख नियाङले यससम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ। नियाङ सेनेगलका अफ्रिकी एकीकरण, परराष्ट्र मामिला तथा विदेशमा रहेका सेनेगली नागरिकसम्बन्धी मन्त्री हुनुहुन्छ।
हस्ताक्षरअघि दुवै मन्त्रीबीच पारस्परिक हितका विषयमा भेटवार्ता भएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ। भेटमा नेपालमा हालै आएको जलवायुजन्य विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणबारे पनि छलफल भएको थियो। दुवै मन्त्रीले साझा प्रगति र समृद्धिका लागि द्विपक्षीय सम्बन्ध अझ फराकिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ।
सेनेगलसँगको सम्बन्धसँगै नेपालले कूटनीतिक सम्बन्ध राखेका देशको सङ्ख्या १८८ पुगेको छ। यसैगरी न्युयोर्कमा नेपाल र सर्बियाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। मन्त्री खनाल र सर्बियाका परराष्ट्रमन्त्री मार्को डुरिचले महासभाको साइडलाइन कार्यक्रममा उक्त समझदारीमा हस्ताक्षर गर्नुभएको हो।
यो संयन्त्रले दुई देशबीच साझा चासोका विषयमा नियमित परामर्श गर्न संस्थागत आधार दिनेछ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


