झरीले धानबालीमा जोखिम, अहिले धान नकाट्न किसानलाई आग्रह

लगातारको वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि जल तथा मौसम विज्ञान विभागले किसानलाई मौसम नखुलेसम्म धान नकाट्न आग्रह गरेको छ। विभागका मौसमविद् रोजन लामिछानेले प्रतिकूल मौसममा हतारमा धान काट्दा बाली र जनधन दुवैमा क्षति हुन सक्ने बताउनुभएको छ। उहाँका अनुसार देशको पूर्वी भूभागबाट मौसम बिस्तारै सुधार हुन थालेको छ।
विभागको आजको पूर्वानुमानअनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। भोलि लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। वीरेन्द्रनगर, नेपालगञ्ज र पोखरामा आज वर्षाको सम्भावना १०० प्रतिशत छ।
जमिन चिरिएका वा साना पहिरो देखिएका ठाउँका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा सर्न र छिमेकीलाई पनि सचेत बनाउन विभागले अनुरोध गरेको छ। नदी किनारमा बस्नेहरूलाई उच्च सतर्कता अपनाउन पनि भनिएको छ। यसैबीच, चितवनमा पसाउने र परागसेचनको चरणमा रहेको धानमा झरीका कारण फोकटा दाना बस्ने र दाग लाग्ने जोखिम देखिएको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले बताउनुभएको छ।
कार्यालयले भरतपुर–१४ पकौडीमा बाली उपचार शिविर चलाएको छ र रत्ननगरमा पनि शिविर गर्ने तयारी गरेको छ। बाली संरक्षण अधिकृत गीता केसीका अनुसार धानमा समस्या लिएर कार्यालय आउने किसान बढेपछि शिविर सुरु गरिएको हो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

