सफ्टवेयर केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा संसदीय छानबिनको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्तिबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। बिहीबार प्रतिनिधि सभा बैठकमा उहाँले नियुक्ति प्रक्रियामा प्रधानमन्त्री कार्यालयभित्रैबाट नीतिगत मिलेमतो र भ्रष्टाचार भएको आरोप लगाउनुभयो। ओलीले संसद्मा राखेको घटनाक्रमअनुसार जेठ १२ गते केन्द्रको नियम र कार्यविधिको मस्यौदा तयार पार्न एउटा आन्तरिक कार्यदल बनाइएको थियो।
त्यही कार्यदलका संयोजकले पदको योग्यता र परीक्षाको मापदण्ड लेखेका र पछि उनी नै सो पदमा नियुक्त भएको उहाँको दाबी छ। भदौ ४ गते मन्त्रिपरिषद्ले केन्द्रको गठन आदेश स्वीकृत गरेको थियो। असोज १ गते हतारमा आवेदकको छोटो सूची बनाइएको र भोलिपल्टै अन्तर्वार्ता लिइएको उहाँले बताउनुभयो।
अन्तर्वार्ताकै दिन मन्त्रिपरिषद्ले निर्णय गरे पनि पाँच दिनसम्म सूचना सार्वजनिक नगरिएको ओलीको आरोप छ। प्रमाणका रूपमा उहाँले नियुक्त व्यक्तिले लिङ्क्डइनमा राखेको पोस्ट र प्रधानमन्त्री कार्यालयका कर्मचारीसँग केक काटेर खुसी मनाएको तस्बिर सदनमा देखाउनुभयो। प्रधानमन्त्री स्वयंको कार्यालयभित्रै यस्तो काम हुँदा सरकारको सुशासन र पारदर्शितामा गम्भीर प्रश्न उठेको उहाँको भनाइ छ।
छानबिन समितिले यस प्रक्रियामा संलग्न सबैको भूमिकाबारे अनुसन्धान गर्नुपर्ने उहाँको माग छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


