१६ असोज २०८३ English
English

रातु नदीको तटबन्ध तीन ठाउँमा भत्कियो, जलेश्वर डुबानमा, धानबालीमा क्षति

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रातु नदीको तटबन्ध तीन ठाउँमा भत्कियो, जलेश्वर डुबानमा, धानबालीमा क्षति

YouTube मा सब्स्क्राइब

महोत्तरीमा रातु नदीको तटबन्ध तीन ठाउँमा भत्किँदा जिल्ला सदरमुकाम जलेश्वर डुबानमा परेको छ। बलवा नगरपालिकाको वन्चौरी तथा महोत्तरी गाउँपालिकाको गोरिगमा र मडै बस्तीनजिक मङ्गलबार बाँध फुटेको थियो। बाँधबाट बगेको पानी बुधबार साँझदेखि सदरमुकामको बजारमा छिरेको हो।

ढल र निकासको व्यवस्था नहुँदा पानी जम्दै गएपछि बिहीबार बजार क्षेत्र जलमग्न भएको छ। जलेश्वर–१ को नगरपालिकाचोकदेखि हटिया क्षेत्रसम्म पानी भरिएको छ। सडकमा पानी बग्न थालेपछि सवारी साधन चल्न सकेका छैनन् र पैदल हिँड्न पनि कठिन भएको जलेश्वर–१ का स्थानीय विनोद पासवानले बताउनुभएको छ।

बाढीले मडै र गोरिगमामा खेत कटान गरेको छ। महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरिगमा तथा जलेश्वर नगरपालिकाका छोट्का रतबारा, बजराही र धवौलीमा बाला लाग्न लागेको धान ढलेर नष्ट भएको छ। महोत्तरी–६ गोरिगमाका किसान भोला महतोका अनुसार हरेक वर्ष यिनै स्थानमा तटबन्ध भत्किने गरेको छ।

गत वर्ष पनि वन्चौरीमै बाँध फुटेको थियो। धान पोटाउने बेलामै बाढीले बाली लडाएर पूरै नोक्सान पारेको महतोले बताउनुभएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भत्किएका ठाउँमा तत्काल मर्मत सुरु गरिएको छ।

जलेश्वरको पुछार क्षेत्रबाट पानी निकास खोल्ने काम पनि थालिएको उहाँले जानकारी दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार