१७ असोज २०८३ English
English

कांग्रेस महाधिवेशन: प्रतिनिधि दर्ता सुरु, सोमबार राष्ट्रिय सभागृहमा मनोनयन, पदाधिकारी थप्ने तयारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस महाधिवेशन: प्रतिनिधि दर्ता सुरु, सोमबार राष्ट्रिय सभागृहमा मनोनयन, पदाधिकारी थप्ने तयारी

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको नाम दर्ता सुरु भएको छ। सानेपास्थित बीपीनगरको पार्टी कार्यालयमा शनिबार दिउँसोदेखि दर्ता थालिएको हो। प्रत्येक प्रदेशका प्रतिनिधिका लागि अलग-अलग कोठा तोकिएको छ।

दर्ता गरेका प्रतिनिधिलाई पार्टी विधान, कापी र कलमसहितको महाधिवेशन झोला दिइन्छ। महाधिवेशनको उद्घाटन आइतबार काठमाडौँको खुलामञ्चमा हुँदै छ। असोज १९ र २० गते बन्द सत्र चल्नेछ भने २१ र २२ गते प्रतिनिधिले निर्वाचन प्रक्रियामा भाग लिनेछन्।

केन्द्रीय कार्यसमितिका उम्मेदवारले असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभागृहमा मनोनयनपत्र बुझाउन सक्नेछन्। सबै केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा योग्य व्यक्तिले उम्मेदवारी दिन पाउनेछन्। केन्द्रीय निर्वाचन समितिका सदस्य-सचिव राजु कडुवालले जारी गरेको विज्ञप्तिमा निर्वाचनको विस्तृत कार्यतालिका पछि सार्वजनिक गरिने उल्लेख छ।

सभापति, पदाधिकारी र केन्द्रीय सदस्यका आकाङ्क्षीले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ। यसैबीच, पार्टीका एक पदाधिकारीका अनुसार कांग्रेसले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको सङ्ख्या बढाउने तयारी गरेको छ। महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको विधान संशोधन समितिमा यसबारे छलफल चलिरहेको छ।

हालको विधानमा एक जना सभापति, दुई-दुई जना उपसभापति र महामन्त्री तथा क्लस्टरबाट आठ जना सहमहामन्त्री रहने व्यवस्था छ। ती पदाधिकारीका अनुसार उपसभापति र महामन्त्रीमा एक-एक जना थप्ने कुरा निश्चित भइसकेको छ। यससम्बन्धी प्रस्ताव महाधिवेशनको बन्द सत्रमा लैजाने तयारी छ।

स्रोत

सम्बन्धित समाचार