१७ असोज २०८३ English
English

जनमत पार्टीको दोस्रो महाधिवेशन सुरु, घिसिङ र यादवले उठाए मधेसका प्रश्न

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
जनमत पार्टीको दोस्रो महाधिवेशन सुरु, घिसिङ र यादवले उठाए मधेसका प्रश्न

YouTube मा सब्स्क्राइब

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि सुरु भएको छ। उद्घाटन कार्यक्रममा शुभकामना दिँदै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिको गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ। अधिकारका लागि भएका सङ्घर्षबाट प्राप्त उपलब्धि कार्यान्वयन भए कि भएनन् भनेर हेर्नुपर्ने उहाँको भनाइ छ।

मधेसबाट राष्ट्रपति र प्रधानमन्त्री बने पनि सर्वसाधारणको जीवनस्तरमा आधारभूत बदलाव आयो कि आएन भनेर घिसिङले प्रश्न उठाउनुभएको छ। मधेसलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न सिँचाइ विस्तार गर्नुपर्ने र खेतसम्म पुर्‍याइने बिजुली कृषिका लागि निःशुल्क हुनुपर्ने उहाँले बताउनुभएको छ। मधेसका दलहरू क्षेत्रीय शक्ति बने पनि राष्ट्रिय दलका रूपमा स्थापित हुन नसकेको विषयमा पनि समीक्षा हुनुपर्ने घिसिङको भनाइ छ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनबाट प्राप्त उपलब्धि खतरामा परेको बताउनुभएको छ। मधेस आठ जिल्लामा सीमित नभई मेचीदेखि महाकालीसम्म फैलिएको उहाँको भनाइ छ। सात प्रदेशको संरचना फेर्नुपर्ने र राष्ट्रिय सभामा मधेसको प्रतिनिधित्व जनसङ्ख्याअनुसार हुनुपर्ने यादवको माग छ।

मधेसकेन्द्रित दलबीच एकता गरेर फेरि सङ्घर्षमा जानुपर्ने उहाँले बताउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले मधेसका जनताको मतले मधेसको छोरा प्रधानमन्त्री बनेको बताउनुभएको छ। रास्वपाले जनमत पार्टीसँग धेरै विषयमा सहकार्य गर्दै आएको उहाँको भनाइ छ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता अशोक जयसवालले अधिकार प्राप्तिका लागि सबै उत्पीडित समुदाय एक हुनुपर्नेमा जोड दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार