नयाँ जातको धान नफल्दा चितवनको माडीका किसान चिन्तित

चितवनको माडीमा नयाँ जातको धान रोपेका किसानको खेतमा यस वर्ष बाला नलागेर र दाना नभरिएर उत्पादन घटेको छ। माडी नगरपालिकाका वडा ५, ६ र ७ लगायतका किसानले एग्रोभेटबाट किनेर लगाएको बायोसीड ३०१ जातमा यो समस्या देखिएको हो। गत वर्षसम्म राम्रै फल्ने खेतमा पनि यस पटक कतै बाला ननिस्किएको, कतै सानो बाला लागेको र थन्क्याउने बेलामा टाटला अर्थात् खोक्रा बाला मात्र भेटिएको छ।
नगरपालिकाको कृषि शाखाका अनुसार बिरुवा हुर्कने चरणमै यो जातमा मरुवा अर्थात् ब्लास्ट र खैरो थोप्ले रोग देखिएको थियो। कृषि शाखाका अनुसार माडीमा यो जातको करिब ३ हजार किलो बीउ बिक्री भई करिब १०० हेक्टरमा खेती गरिएको छ। धेरैजसो खेतमा उस्तै समस्या देखिएकाले बीउमै त्रुटि हुन सक्ने आशङ्का कृषि शाखाले गरेको छ।
उत्पादन घटेपछि वर्षभरि खाने अन्न जोहो गर्नसमेत गाह्रो हुने चिन्तामा किसान समाधान खोज्दै दैनिकजसो कृषि शाखा धाइरहेका छन्। प्रभावित किसानले कृषि विकास कार्यालय चितवनलाई पनि जानकारी गराइसकेका छन्। कार्यालयले बीउ कम्पनी, एग्रोभेट र किसानसँग विवरण सङ्कलन गरी समस्याको वास्तविक कारण र क्षति यकिन गर्ने जनाएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


