एनपीएल: काठमान्डुले लुम्बिनीलाई ३६ रनले हरायो, लुम्बिनीको अपराजित यात्रा रोकियो

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमान्डु गोर्खाजले साविक विजेता लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा हारसँगै लुम्बिनीको १० खेलसम्म कायम अपराजित यात्रा रोकिएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो। डेभिड वार्नरले ५० बलमा ६६ रन बनाए भने साहिलले ३६ बलमा ३८ रन जोडे। उनीहरूबीच पहिलो विकेटका लागि १०२ रनको साझेदारी भयो। तर अन्तिम पाँच ओभरमा काठमान्डुका सात विकेट पतन भए। एनपीएल पहिलो पटक खेलिरहेका वार्नरले काठमान्डुका लागि तेस्रो खेलमा अर्धशतक प्रहार गरेका हुन्।
जवाफमा १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमा अलआउट भयो। लुम्बिनीले २१ रनमै पाँच विकेट गुमाएको थियो भने पावरप्लेमै ६ विकेट गुमाएको थियो। लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए। अभिषेश गौतमले १६ र निरोशन डिकवेलाले १४ रन जोडे।
काठमान्डुका पाकिस्तानी तीव्र बलर जहानदाद खानले चार विकेट लिए। करण केसीको बलिङ पनि प्रभावकारी रह्यो। यो जितसँगै काठमान्डु अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


