नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक, संसदीय भूमिका समीक्षा हुने

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मंगलबार केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएको छ। काठमाडौँको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ। बैठकको औपचारिक एजेन्डा वितरण नभए पनि मूलतः तीन विषयमा छलफल हुने उहाँले बताउनुभएको छ।
पहिलो, सङ्गठित सदस्यता नवीकरण, मातहत कमिटीका अधिवेशन र महाधिवेशनको तयारीबारे छलफल हुनेछ। वैशाखमा बसेको कार्यसंयोजन समितिको बैठकले मंसिरमा काठमाडौँमा एकता राष्ट्रिय महाधिवेशन गर्ने निर्णयसहित कार्यतालिका सार्वजनिक गरेको थियो। तर रसुवाको बाढीपछिको अवस्थालगायत कारणले उक्त कार्यतालिका प्रभावित भएकाले नयाँ मिति तय गर्नुपर्ने ज्वालाले जनाउनुभएको छ।
दोस्रो, राष्ट्रिय राजनीति, सरकारको कामकारबाही तथा संसद्भित्र पार्टीले खेल्दै आएको र आगामी दिनमा खेल्नुपर्ने भूमिकाबारे छलफल हुनेछ। प्रतिनिधिसभा र राष्ट्रिय सभाको अङ्कगणितका आधारमा संसद्मा पार्टीको भूमिका तय गरिने नेताहरूले बताएका छन्। तेस्रो, रसुवाको बाढीपहिरोपछि सरकारले अघि बढाएका उद्धार, राहत र पुनःस्थापनाका काम तथा त्यसमा पार्टीले निर्वाह गरेको भूमिकाको समीक्षा हुनेछ।
विपद् व्यवस्थापनमा सरकारलाई दिनुपर्ने सुझावबारे पनि बैठकमा छलफल हुने प्रवक्ता ज्वालाले बताउनुभएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


