९ असोज २०८३ English
English

दसैँ यात्रा: अग्रिम टिकट मौसम हेरेर मात्र, इन्धन मूल्य नबढे भाडा नबढ्ने

· १ मिनेट पढाइ
दसैँ यात्रा: अग्रिम टिकट मौसम हेरेर मात्र, इन्धन मूल्य नबढे भाडा नबढ्ने
तस्बिर: थाहाखबर

दसैँका लागि अग्रिम टिकट बुकिङ कहिले खुल्ने भन्ने कुरा मौसमको अवस्था हेरेर मात्र तय गरिने यातायात व्यवस्था विभागले जनाएको छ। चाडपर्वमा सार्वजनिक यातायात व्यवस्थापनबारे सोमबार विभागमा भएको सरोकारवालाको बैठक बुकिङको मिति तय नगरी टुङ्गिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोले बिगारेका सडक नसुध्रिएसम्म बुकिङ खोल्न हतार गर्न नसकिने बताउनुभएको छ।

आवश्यक तयारीपछि छिट्टै अर्को बैठक बसेर मिति तोकिने उहाँको भनाइ छ। राजमार्गमा जाम रोक्ने, गाडी समयमै छुटाउने र बाटोका होटल, खाजाघर तथा शौचालयको सफाइ र गुणस्तर हेर्ने जिम्मा प्रमुख जिल्ला अधिकारीको हुने विभागले जनाएको छ। अध्यक्ष सिटौलाका अनुसार सरकारले इन्धनको मूल्य नबढाएसम्म चाडपर्वमा सार्वजनिक यातायातको भाडा बढ्ने छैन।

सरकारले मूल्य बढाए व्यवसायी पनि भाडा बढाउन बाध्य हुने उहाँले स्पष्ट पार्नुभएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि कम्तीमा १ महिना त्यसको भार उपभोक्तामाथि नपार्न उहाँले सरकारसँग आग्रह गर्नुभएको छ। नेपाल आयल निगमका अनुसार काठमाडौँ, पोखरा र दिपायल डिपोमा अहिले पेट्रोल र डिजेल प्रतिलिटर २०० रुपैयाँ छ।

सिटौलाले यात्रुलाई आधिकारिक काउन्टरबाट मात्र टिकट किन्न आग्रह गर्नुभएको छ। उहाँले बाटोमा ठाउँठाउँमा बस रोकेर जाँच गर्ने चलन हटाई गाडी छुट्ने ठाउँमै यात्रु र कागजात जाँचेर पठाउन पनि माग गर्नुभएको छ।

यो समाचार भिडियोमा

दसैँ यात्रा: अग्रिम टिकट मौसम हेरेर मात्र, इन्धन मूल्य नबढे भाडा नबढ्ने

स्रोत

सम्बन्धित समाचार