बेनी–जोमसोम–कोरला सडक ४६ ठाउँमा क्षतिग्रस्त, पूर्ण सञ्चालनमा एक साता

राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकका ४६ स्थानमा बाढीपहिरो र नदी कटानले क्षति पुर्याएकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन एक साताभन्दा बढी लाग्ने भएको छ। मुस्ताङमा प्रमुख जिल्ला अधिकारी अजिता शर्माको अध्यक्षतामा सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा कोरला सडक आयोजना प्रमुख तेजस्वी शर्माले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार असोज ८ देखि ११ गतेसम्मको भारी वर्षा र हिमपातले पर्वत–मालढुङ्गा खण्डमा ५, बेनीदेखि अन्नपूर्ण गाउँपालिका–३ रुप्सेसम्म १६ र काभ्रेभिरदेखि कोरला नाकासम्म २५ ठाउँमा सडक बिग्रिएको छ।
पर्वत–मालढुङ्गा खण्डको लाटीखोला, फर्से, जुकेखोला, केराबारी र लामाखेतमा लेदोसहितको पहिरोले सडकमा क्षति गरेको छ। पोखरेबगर–नौली बजार जोड्ने मोटरेबल पुलको पहुँच सडक बाढीले बगाएपछि त्यस खण्डको सडक सम्पर्क टुटेको छ। सडक अवरुद्ध हुँदा कोरला नाकाबाट हुने आयात–निर्यातमा समस्या आएको भन्सार विभागले जनाएको छ।
सडक विभागले ३ देखि ६ दिनभित्र कालीगण्डकी करिडोर पूर्ण सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ। विभागका अनुसार पोखरेबगरको पुल भने सुरक्षित छ। हाल नेपाल–चीनबीच सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाका भएकाले कोरला सडकलाई प्राथमिकतामा राखिएको छ।
विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार रसुवा र नुवाकोटजस्तो ठूलो क्षति नभएकाले अवरुद्ध सडक लामो समय बन्द रहने छैनन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


