एमाले केन्द्रीय कमिटी बैठक सुरु: पराजयको नैतिक जिम्मेवारी लिन्छु, नेतृत्व छाड्दिनँ – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत फागुनको निर्वाचनमा पार्टी पराजयको नैतिक जिम्मेवारी लिए पनि नेतृत्व नछाड्ने स्पष्ट पार्नुभएको छ। सोमबार ललितपुरको भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उहाँले यस्तो बताउनुभएको हो। फागुन २१ गतेको निर्वाचनपछि केन्द्रीय कमिटी पहिलो पटक बसेको हो।
पार्टीभित्र नेतृत्व पुस्तान्तरण र पुनर्गठनका नाममा उठेका मागको प्रतिवाद गर्दै ओलीले कसैले 'बेमौसमी बाजा' बजाउँदैमा पद नछाड्ने बताउनुभएको छ। ऊर्जा र अनुभव मिलाएर पार्टी अघि बढ्ने उहाँको तर्क छ। निर्वाचनको मत वैध भए पनि मतदानअघिको वातावरण असामान्य र एकपक्षीय रहेको निष्कर्ष प्रतिवेदनमा छ।
पराजयका कारणमा बाह्य घेराबन्दी, डिजिटल चरित्रहत्या र सङ्गठनभित्रका कमजोरी औँल्याइएका छन्। गत वर्ष भदौमा भएको जेनजी आन्दोलनमा सत्ता परिवर्तनका लागि बाहिरबाट प्रायोजित रणनीतिको छाप देखिएको र त्यसपछि देशमा बाह्य चलखेल बढेको आरोप ओलीले लगाउनुभएको छ। आन्दोलनअघि सामाजिक सञ्जाल नियमनबारे तत्कालीन सरकारको निर्णय जनतालाई बुझाउन नसक्नु कमजोरी भएको पनि उहाँले स्वीकार्नुभएको छ।
बैठकका लागि ९ वटा कार्यसूची तय गरिएका छन्। तीमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो, स्थायी कमिटी र अनुशासन आयोग गठन समावेश छन्। ३ दिन चल्ने बैठक मङ्गलबार बिहान ९ बजे पुनः बस्नेछ र केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि धारणा राख्नेछन्।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


