पुवाखोलामा बेलिब्रिज जडान, मेची करिडोरमा यातायात सुचारु

इलाम सदरमुकामलाई झापाको बिर्तामोडसँग जोड्ने मेची करिडोरअन्तर्गत पुवाखोलामा नयाँ बेलिब्रिज जडान सम्पन्न भएको छ। पुल जडानसँगै आइतबारदेखि उक्त खण्डमा यातायात सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
सडक डिभिजन इलामका सूचना अधिकारी एवं इन्जिनियर अर्जुनकुमार घिमिरेका अनुसार इलाम नगरपालिका–९ भाङटार र वडा नम्बर ११ सोयाक जोड्ने यो बेलिब्रिज सङ्घीय सरकारको दुई करोड २० लाख ३४ हजार रुपैयाँ लागतमा जडान गरिएको हो। पुलको लम्बाइ २३० फिट र चौडाइ १४ फिट रहेको छ। डिभिजनकी लेखा अधिकृत अनिषा बोखीले पुलको उद्घाटन गर्नुभएको छ।
पुलका अन्य संरचना आर्थिक वर्ष २०८२/८३ मै तयार भए पनि भारतबाट अनुदानस्वरूप आउने सामग्रीको ढुवानीमा ढिलाइ हुँदा जडान ढिलो भएको घिमिरेले बताउनुभएको छ। जडानका लागि प्राविधिक टोली भारतबाटै आएको थियो।
सोही स्थानमा आर्थिक वर्ष २०८१/८२ मा एक करोड ४३ लाख ७६ हजार रुपैयाँ लागतमा जडान गरिएको बेलिब्रिज गत असोज १८ गतेको बाढीले बगाएको थियो। त्यसयता खोलामा अस्थायी डाइभर्सन बनाएर जोखिमपूर्ण ढङ्गले यातायात चलिरहेको थियो। नयाँ पुल जडान भएपछि यस क्षेत्रका बासिन्दा खुसी भएका छन्।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


