९ असोज २०८३ English
English

मुग्लिनमा पहिरो खस्दा पृथ्वी राजमार्गमा अवरोध, सतर्कता अपनाउन आग्रह

· १ मिनेट पढाइ
मुग्लिनमा पहिरो खस्दा पृथ्वी राजमार्गमा अवरोध, सतर्कता अपनाउन आग्रह
तस्बिर: थाहाखबर

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिनमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ। सडक निर्माणकै क्रममा आइतबार दिउँसो पहिरो खस्दा राजमार्ग अवरुद्ध भई दुवैतर्फको यातायात रोकिएको थियो। पहिरो हटाइसकेपछि पनि सवारीसाधनको चाप बढी हुँदा मुग्लिन क्षेत्रमा जाम कायमै रहेको छ।

अर्कातर्फ पृथ्वी राजमार्गकै त्रिशूली करिडोरको धादिङ खण्डमा आइतबार साँझ भारी वर्षा भइरहेको छ। वर्षाका कारण सडकछेउका खोल्सीहरूबाट लेदोसहितको बाढी बग्न थालेको र सवारी जाम बढेको जनाइएको छ। राजमार्गका केही स्थानमा पहिरो र बाढीको जोखिम रहेकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न प्रहरीले अपिल गरेको छ।

यात्रा गर्नैपर्ने अवस्थामा विशेष सजगता अपनाउन पनि प्रहरीले आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।

मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको र उत्तर अन्डमान सागरमा बनेको न्यून चापीय क्षेत्र थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने विभागको विश्लेषण छ। काठमाडौंमा आज वर्षाको सम्भावना ३० प्रतिशत रहेको छ।

यो समाचार भिडियोमा

मुग्लिनमा पहिरो खस्दा पृथ्वी राजमार्गमा अवरोध, सतर्कता अपनाउन आग्रह

स्रोत

सम्बन्धित समाचार