११ असोज २०८३ English
English

राजमार्गमा सयौँ स्थानमा अवरोध, मलेखु–मुग्लिन खुलाउन भारी उपकरण परिचालन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
राजमार्गमा सयौँ स्थानमा अवरोध, मलेखु–मुग्लिन खुलाउन भारी उपकरण परिचालन

YouTube मा सब्स्क्राइब

बाढी र पहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी, बीपी र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। सडक विभागका अनुसार पूर्व–पश्चिम राजमार्गसहित छ सडकखण्डमा भने एकतर्फी वा आंशिक रूपमा सवारी चलेको छ। पूर्व–पश्चिम राजमार्गको मकवानपुरस्थित रजैयामा पहिरो खसेकाले सवारी एकतर्फी चलेको छ।

विभागले देशभरका राजमार्गमा करिब ५५० स्थानमा अवरोध देखिएको जनाएको छ। अवरोध हटाउन देशभर करिब २७७ मेसिन परिचालन गरिएको विभागले जनाएको छ। पृथ्वी राजमार्गको मलेखु–मुग्लिन खण्ड खुलाउन डोजर र एक्स्काभेटरसहित करिब १० वटा भारी उपकरण खटाइएका छन्।

यस खण्डमा डेढ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ। धादिङको कृष्णभीर, तिङ्ग्राङखानी, बाङ्गे र चालिसेमा पहिरोले दुवैतर्फ सडक थुनिएको छ। बीपी राजमार्गको माम्ती, पिप्ले र चारसयबेँसीलगायत स्थानमा पहिरो र बाढीले डाइभर्सन बगाउँदा आवागमन रोकिएको छ।

हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ, फाखेल र सिस्नेरी मार्गमा पनि ठाउँठाउँमा अवरोध छ। राजधानी जोड्ने मुख्य सडक बन्द हुँदा काठमाडौँ जाने ट्रक र बस त्रिभुवन राजपथतर्फ मोडिएका छन्। हेटौँडामा ती सवारीको लामो लाइन लागेको छ र प्रशासनले समय तथा भारको सीमा तोकेको छ।

सुरक्षा निकाय र सडक विभागले अत्यावश्यक कामबाहेक पहिरोको जोखिम भएका सडकमा यात्रा नगर्न आग्रह गरेका छन्।

स्रोत

सम्बन्धित समाचार