९ असोज २०८३ English
English

सांसदलाई मर्यादित हुन सभामुखको निर्देशन, सदनमा ‘वेटिङ चेयर’ व्यवस्था

· १ मिनेट पढाइ
सांसदलाई मर्यादित हुन सभामुखको निर्देशन, सदनमा ‘वेटिङ चेयर’ व्यवस्था
तस्बिर: बिजमाण्डू

सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सांसदहरूलाई नियमावलीको पालना गर्न निर्देशन दिनुभएको छ। हालका बैठकमा सांसदहरूको आचरणबारे प्रश्न उठिरहेका बेला उहाँले मंगलबार यस्तो निर्देशन दिनुभएको हो। सभामुख अर्यालले सांसदहरूकै पहलमा प्रतिनिधि सभा नियमावली २०८० लागू भएको, सोहीअन्तर्गत सभा चलिरहेको र हरेक दिनको बैठक मर्यादित तथा उत्कृष्ट बनाउनु सबै सदस्यको कर्तव्य भएको बताउनुभएको छ।

उहाँले नियमावलीको नियम २० र २१, विशेषगरी नियम २० को खण्ड ‘ट’ प्रति सदस्यहरूको ध्यान खिच्नुभएको छ। उक्त खण्डमा बैठक कक्षभित्र फोन मौन राख्नुपर्ने र फोनमा कुरा गर्न, तस्बिर खिच्न तथा अडियो–भिडियो रेकर्ड गर्न नपाइने व्यवस्था छ। यसैबीच, प्रतिनिधि सभामा बोल्ने पालो पर्खिरहेका सांसदका लागि ‘वेटिङ चेयर’ अर्थात् प्रतीक्षा कुर्सीको व्यवस्था गरिएको छ।

सभामुखको सचिवालयका अनुसार सांसदहरू आफ्नो पालो आउनुअघि नै रोस्टमनजिकै बसेर बोल्ने तयारी गर्न सक्नेछन्। सचिवालयले यो व्यवस्थाबाट प्रत्येक सदस्यले रोस्टमसम्म पुगेर बोल्न सुरु गर्दा लाग्ने समयमा करिब ३० सेकेन्डदेखि १ मिनेटसम्म बचत हुने जनाएको छ। सभामुखको निर्देशनसँगै मंगलबारको बैठक सकिएको छ भने अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ।

यो समाचार भिडियोमा

सांसदलाई मर्यादित हुन सभामुखको निर्देशन, सदनमा ‘वेटिङ चेयर’ व्यवस्था

स्रोत

सम्बन्धित समाचार