१२ कात्तिक २०८३ English
English

आईजीपीको राजीनामाबारे समाचारप्रति प्रहरीको आपत्ति, पीसीसी बैठकले भन्यो ‘अनर्गल प्रचार’

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आईजीपीको राजीनामाबारे समाचारप्रति प्रहरीको आपत्ति, पीसीसी बैठकले भन्यो ‘अनर्गल प्रचार’
तस्बिर: रातोपाटी

नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति आपत्ति जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जारी गरेको विज्ञप्तिमा अपुष्ट, भ्रामक, तथ्यहीन तथा स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरिएको छ।

सङ्गठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गर्नेहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ। विज्ञप्तिमा प्रहरी सङ्गठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोज्नेमाथि अनुसन्धान थालिने उल्लेख छ।

यसैबीच आईजीपी कार्कीले आकस्मिक रूपमा बोलाएको प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) बैठक सकिएको छ। बिहीबार अपराह्न ३ बजेदेखि नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बसेको बैठक करिब चार घण्टा चलेको थियो।

बैठकमा प्रहरी सङ्गठनभित्रका पछिल्ला घटनाक्रम र अनुसन्धानसम्बन्धी सूचना बाहिरिएको विषयले प्रमुखता पाएको थियो। प्रहरीभित्र एकता कायम राख्नुपर्ने र नेतृत्वविरुद्ध भएका प्रहारमा सबै प्रहरी अधिकारी एकजुट हुनुपर्नेमा छलफल भएको थियो। बैठकले आईजीपीविरुद्ध ‘अनर्गल प्रचार’ गरिएको निष्कर्ष निकालेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार