एमाले केन्द्रीय कमिटी: बैठक सञ्चालन महासचिवलाई, ओलीको बचाउ र अन्तरिम नेतृत्वको प्रस्ताव

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबारदेखि अध्यक्ष केपी शर्मा ओली आफैँले सञ्चालन गर्नुभएकोमा पार्टीभित्र असन्तुष्टि देखिएको छ। पार्टीमा महासचिवले कार्यसूची राखेर बैठक चलाउने अभ्यास रहे पनि यसपटक अध्यक्ष ओलीले कार्यसूची प्रस्तुत गर्ने, बैठक चलाउने र राजनीतिक प्रतिवेदन राख्ने काम स्वयं गर्नुभएको छ। एमालेको विधानले बैठक सञ्चालन गर्ने अधिकार अध्यक्षलाई दिएको छ।
मंगलबार बिहानको सत्रमा पनि सबै प्रक्रिया अध्यक्षले नै चलाएपछि केही नेताले पार्टी एकै व्यक्तिको नियन्त्रणमा चल्ने हो कि भन्दै आपत्ति जनाएका थिए। त्यसपछि बैठक सञ्चालनको जिम्मेवारी महासचिव शंकर पोखरेलले सम्हाल्नुभएको छ। महासचिव पोखरेलले आफू विशेष महाधिवेशनको पक्षधर नभएको र अध्यक्षलाई पदबाट हटाउने प्रयासमा नलाग्ने स्पष्ट पार्नुभएको छ।
उपमहासचिव योगेश भट्टराईले भने अध्यक्षलाई लिखित धारणा बुझाउँदै नेतृत्व हस्तान्तरण र स्थानीय तहको आगामी निर्वाचनसम्मका लागि अन्तरिम नेतृत्व गठनको सुझाव दिनुभएको छ। केन्द्रीय सदस्य गीता अधिकारीले जिम्मेवारी सामूहिक लिने तर अपजस अध्यक्षमाथि मात्र थोपर्ने प्रवृत्तिले पार्टी बलियो नहुने भन्दै ओलीको राजनीतिक प्रतिवेदनलाई समर्थन गर्नुभएको छ। ललितपुरको भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा जारी बैठक असोज ७ गतेसम्म चल्नेछ।
बैठकले केन्द्रीय सदस्य मनोनयन, विभाग, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायत विषयमा निर्णय गर्ने कार्यसूची तय गरेको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


