परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीतिक शाखा स्थापना

विश्वव्यापी जलवायु परिवर्तनको असरलाई अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा प्रभावकारी ढङ्गले उठाउन परराष्ट्र मन्त्रालयले छुट्टै जलवायु कूटनीतिक शाखा स्थापना गरेको छ। जलवायु परिवर्तनका कारण नेपालको संस्कृति, सभ्यता र अस्तित्वमै चुनौती थपिएकाले यो संरचना बनाइएको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिनुभएको छ। रसुवाको भोटेकोशीमा आएको बाढीको विकराल अवस्थाले जलवायु कूटनीतिलाई प्रभावकारी बनाएर अघि बढाउनुपर्ने आवश्यकता देखाएपछि शाखा खोलिएको हो।
प्रवक्ता क्षेत्रीका अनुसार शाखाले जलवायु कूटनीतिसम्बन्धी विषयमा समन्वय गर्नेछ। जलवायु परिवर्तन र त्यसका असरबारे संस्थागत रूपमा काम गर्ने तथा जलवायु प्रतिकार्यका गतिविधिलाई गति दिने जिम्मा पनि यसैको हुनेछ। शाखाले कूटनीतिक कामसँगै जलवायुजन्य विपद्को मूल्याङ्कन र वैज्ञानिक तथ्य तथा तथ्याङ्क सङ्कलनको काम पनि सँगसँगै गर्नेछ।
विपद्सम्बन्धी तथ्याङ्क जुटाउन शाखाले नेपालमा जलवायुबारे अध्ययन र अनुसन्धान गर्ने निकायहरूसँग समन्वय गर्नेछ। जलवायुसम्बन्धी यी काम एकद्वार प्रणालीमार्फत अघि बढाइनेछ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


