९ असोज २०८३ English
English

चीनमा उच्च प्रविधि उद्योगमा विदेशी लगानी बढ्यो

· १ मिनेट पढाइ
चीनमा उच्च प्रविधि उद्योगमा विदेशी लगानी बढ्यो
तस्बिर: गोरखापत्र

चीनमा चालु वर्षको पहिलो आठ महिनामा समग्र विदेशी प्रत्यक्ष लगानी घटे पनि उच्च प्रविधिसँग सम्बन्धित उद्योगमा लगानी उल्लेख्य रूपमा बढेको छ। चीनको वाणिज्य मन्त्रालयका अनुसार जनवरीदेखि अगस्टसम्मको अवधिमा उच्च प्रविधि उद्योगमा भित्रिएको वास्तविक विदेशी लगानी करिब ३५ प्रतिशतले बढेर झन्डै २०० अर्ब युआन पुगेको छ। यो रकम करिब २९ अर्ब ६६ करोड अमेरिकी डलर बराबर हो।

सोही अवधिमा देशभित्र भित्रिएको कुल विदेशी लगानीको झन्डै ४२ प्रतिशत हिस्सा उच्च प्रविधि क्षेत्रको रहेको मन्त्रालयले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो हिस्सा करिब १२ प्रतिशत बिन्दुले बढेको छ। कुल विदेशी प्रत्यक्ष लगानी भने करिब ५ प्रतिशतले घटेर झन्डै ४८० अर्ब युआनमा सीमित भएको छ।

यस अवधिमा चीनमा करिब ४२ हजार ६ सय नयाँ विदेशी लगानीका उद्यम स्थापना भएका छन्, जो अघिल्लो वर्षको तुलनामा झन्डै शून्य दशमलव तीन प्रतिशत बढी हो। विज्ञहरूका अनुसार चीनको लगानी आकर्षण पहिले मुख्यतः कम लागतमा आधारित थियो, अहिले नवप्रवर्तन र उच्चस्तरीय प्रविधिमा आधारित बन्दै गएको छ। विदेशी लगानी थप भित्र्याउन चीनले १५ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ।

यो समाचार भिडियोमा

चीनमा उच्च प्रविधि उद्योगमा विदेशी लगानी बढ्यो

स्रोत

सम्बन्धित समाचार