कांग्रेसको वडा अधिवेशन ७३ जिल्लाका ६ हजार १३२ वडामा सम्पन्न (अपडेट)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार र आइतबार गरी दुई दिनमा ती वडामा वडा कार्यसमिति गठन तथा क्षेत्रीय प्रतिनिधि चयन भएको हो। समितिका सदस्य–सचिव राजु कटुवालले अधिकांश वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको जानकारी दिनुभएको छ।
भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने वडा अधिवेशन हुन सकेको छैन। यस्तै सप्तरीको क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङको क्षेत्र नम्बर ६, रौतहटको क्षेत्र नम्बर १, सर्लाहीको क्षेत्र नम्बर २ र परासीको क्षेत्र नम्बर २ मा प्रक्रिया पूरा हुन बाँकी छ। ती वडामा असोज ५ गते सोमबार अधिवेशन निरन्तर सञ्चालन हुने समितिले जनाएको छ।
पार्टीको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ। वडा अधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सहभागी भएको छैन। देउवा पक्षले असोज १५ गते छुट्टै वडा अधिवेशन गर्ने तयारी गरेको छ।
निर्वाचन समितिका अनुसार देउवाको गृहजिल्ला डडेल्धुरामा भने अधिवेशन सम्पन्न भएको छ। पाँचथरका ६० वटै वडामा सर्वसम्मत रूपमा नेतृत्व तथा प्रतिनिधि चयन भएको जिल्ला सभापति रूपनारायण जवेगुले बताउनुभएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


