९ असोज २०८३ English
English

'ग्रे जोन' को रिपोर्टमाथि सरकारी प्रवक्ताको प्रश्न

· १ मिनेट पढाइ
'ग्रे जोन' को रिपोर्टमाथि सरकारी प्रवक्ताको प्रश्न
तस्बिर: नेपाल लाइभ

सरकारका प्रवक्ता एवं मन्त्री सस्मित पोखरेलले अमेरिकी सञ्चारमाध्यम ग्रे जोनको नेपालसम्बन्धी रिपोर्टबारे सरकारले आधिकारिक धारणा दिनु नपर्ने बताउनुभएको छ। शुक्रबार मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूले सरकारको धारणा सोध्दा उहाँले उक्त माध्यमको प्रामाणिकता र विश्वसनीयतामाथि नै प्रश्न उठाउनुभएको छ। जेनजी आन्दोलनबारेको उक्त रिपोर्टमा केही नेताको राजनीतिक उदयमा अमेरिकी सहयोग पाएका संस्थाहरूको भूमिका रहेको दाबी गरिएको छ।

मन्त्री पोखरेलले प्रश्न सोध्ने पत्रकारकै माध्यमको फलोअर सङ्ख्या सोध्नुभएको थियो। करिब १० लाख भन्ने जवाफ आएपछि उहाँले ग्रे जोनका करिब ७० हजार फलोअर मात्र रहेको बताउनुभएको छ। फलोअर सङ्ख्या मात्र विश्वसनीयताको आधार नहुने पत्रकारले औँल्याएपछि उहाँले त्यो उदाहरण मात्र भएको स्पष्ट पार्नुभएको छ।

प्रकाशनको आधिकारिकता र विश्वसनीयता पनि हेर्नुपर्ने उहाँको तर्क छ। नेपाली सञ्चारमाध्यममा आएकाले यहाँ चर्चा भए पनि अमेरिकामा यसलाई कसैले नचिन्ने उहाँको भनाइ छ। ग्रे जोनमाथि कारबाहीबारे भने मन्त्री पोखरेलले केही बोल्नुभएको छैन।

सोही क्रममा उहाँले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणताका भएको द्विपक्षीय वार्तामा नेपाली झन्डा नराखिएको विषयमा सरकारको औपचारिक धारणा आउने बताउनुभएको छ। प्रोटोकल मिलेको वा नमिलेको भन्नेबारे परराष्ट्र मन्त्रालयले जानकारी दिने उहाँको भनाइ छ।

स्रोत

सम्बन्धित समाचार