९ असोज २०८३ English
English

वर्षाको जोखिममा १० हजार प्रहरी, सशस्त्रलाई बिदामा पनि उपत्यका नछाड्न निर्देशन

· १ मिनेट पढाइ
वर्षाको जोखिममा १० हजार प्रहरी, सशस्त्रलाई बिदामा पनि उपत्यका नछाड्न निर्देशन
तस्बिर: गोरखापत्र

भारी वर्षाको पूर्वानुमानपछि नेपाल प्रहरीले करिब १० हजार प्रहरीलाई उद्धार सामग्रीसहित तयारी अवस्थामा राखेको छ। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रधान कार्यालयदेखि प्रहरी चौकीसम्मका एकाइ तत्काल खटिन सक्ने अवस्थामा छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कमान्ड पोस्ट खडा गरी सबै सुरक्षा निकायका प्रतिनिधि चौबीसै घण्टा रहने प्रबन्ध मिलाइएको छ।

सुरक्षा निकायले देशभर करिब ६ सय ५० ठाउँलाई सम्भावित जोखिमयुक्त क्षेत्र भनी पहिचान गरेका छन्। धेरै वर्षा हुने अनुमान गरिएका गण्डकी र लुम्बिनीमा सुरक्षा संयन्त्रको सक्रियता बढाइएको छ। सशस्त्र प्रहरीले जोखिमयुक्त ठाउँहरूमा करिब ११ हजार ७ सय जनशक्ति उच्च सतर्कतामा राखेको जनाएको छ।

उसले विपद् व्यवस्थापनमा तालिम पाएका जनशक्तिसँगै गोताखोर र डोरीमार्फत उद्धार गर्ने टोली पनि खटाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले बिहीबार बिहानदेखि जोखिमयुक्त क्षेत्रमा माइकिङ गरी सूचना दिइरहेका छन्। झापामा सशस्त्रले मेची, कनकाई, रतुवा र बिरिङ खोला आसपासका बस्तीमा सचेतना माइकिङ गरिरहेको छ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले त्यहाँका कर्मचारीलाई सार्वजनिक बिदामा पनि काठमाडौँ उपत्यका बाहिर नजान निर्देशन दिएको छ। सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार प्रधान कार्यालयमा पनि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तयारीमा राखिएका छन्। नेपाली सेनाले चार ठाउँमा हवाई साधनसहितको विशेष उद्धार टोली तयार राखेको छ।

गृह मन्त्रालयले सबै ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्ला सुरक्षा समितिको बैठक राखी तीनै सुरक्षा निकायलाई तयारीमा राख्न परिपत्र गरेको छ।

यो समाचार भिडियोमा

वर्षाको जोखिममा १० हजार प्रहरी, सशस्त्रलाई बिदामा पनि उपत्यका नछाड्न निर्देशन

स्रोत

सम्बन्धित समाचार