१० असोज २०८३ English
English

हावाहुरी र वर्षाले तराईमा उखु खेतीमा क्षति

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
हावाहुरी र वर्षाले तराईमा उखु खेतीमा क्षति
तस्बिर: सेतोपाटी

तराई र भित्री मधेसका धेरै जिल्लामा लगातारको वर्षा र हावाहुरीले उखुबालीमा क्षति पुर्‍याएको छ। सिरहाको विष्णुपुर गाउँपालिका–१ मा दुई दिनदेखि परेको पानी र बिहीबार राति चलेको हावाहुरीले किसान गोपिन्द्र यादवको करिब दुई बिघामा लगाइएको उखु ढलेको छ। यादवले जग्गा भाडामा लिएर करिब तीन बिघा क्षेत्रफलमा उखु रोप्नुभएको थियो।

उहाँका अनुसार ऋण र सापटी जुटाएर खेतीमा करिब ४ लाख रुपैयाँ लगानी गरिएको थियो। बाली सप्रिएको भए यसबाट करिब १० लाख रुपैयाँ कमाइ हुने आशा उहाँले गर्नुभएको थियो। बोटहरू लडेपछि उत्पादन घट्ने र लगानीसमेत फिर्ता नहुने चिन्ता यादवले व्यक्त गर्नुभएको छ।

यो क्षतिका कारण परिवारको गुजारा चलाउनसमेत कठिन हुने उहाँले बताउनुभएको छ। विष्णुपुर गाउँपालिका–१ का पूर्ववडाध्यक्षसमेत रहनुभएका यादव हाल पुनः कृषि पेसामा फर्किनुभएको हो। जल तथा मौसम विज्ञान विभागको शुक्रबार साँझ जारी पूर्वानुमानअनुसार शनिबार पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै मधेशको तराईका केही स्थानमा हावाहुरी चल्न सक्छ।

सोही दिन मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना पनि विभागले औँल्याएको छ। विभागको सहरगत पूर्वानुमानमा जनकपुरमा वर्षाको सम्भावना ६० प्रतिशत देखाइएको छ।

यो समाचार भिडियोमा

हावाहुरी र वर्षाले तराईमा उखु खेतीमा क्षति

स्रोत

सम्बन्धित समाचार