९ असोज २०८३ English
English

कृषि अनुसन्धान परिषद्को संरचना फेरिँदै, स्थानीय आवश्यकतामा केन्द्रित हुन निर्देशन

· १ मिनेट पढाइ
कृषि अनुसन्धान परिषद्को संरचना फेरिँदै, स्थानीय आवश्यकतामा केन्द्रित हुन निर्देशन
तस्बिर: इमेजखबर

नेपाल कृषि अनुसन्धान परिषद् अर्थात् नार्कले अनुसन्धानलाई प्रभावकारी बनाउन आफ्नो संगठनात्मक संरचना फेर्ने भएको छ। सोमबार सिंहदरबारमा बसेको संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा उपस्थित भई नार्कका कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले यसबारे जानकारी दिनुभएको छ।

अनावश्यक संरचना हटाउने वा गाभ्ने र प्रविधिमैत्री प्रणाली अपनाउने नीतिबाट खर्च घटाउँदै कार्यक्षमता बढाउने योजना परिषद्ले अघि सारेको छ। यसअन्तर्गत नार्गे र नार्से एकआपसमा गाभिनेछन् भने जुम्लाका अनुसन्धान केन्द्रहरू एकीकृत गरिनेछन्। बालीको नयाँ जात विकास गर्न हाल करिब १२ वर्ष लाग्ने गरेकोमा त्यसलाई करिब ५ देखि ६ वर्षमा झार्न स्पीड ब्रिडिङ केन्द्र स्थापनाको तयारी भइरहेको श्रेष्ठले बताउनुभएको छ।

कृषि प्रणालीलाई आत्मनिर्भर र निर्यातमुखी बनाउन अनुसन्धानको ढाँचा नै व्यापक रूपमा फेर्नुपर्ने उहाँको भनाइ छ। बैठकमा समितिका सभापति अशोककुमार चौधरीले नार्कअन्तर्गतका निकायलाई नतिजामुखी र स्थानीय आवश्यकतामा केन्द्रित बनाउन सरकारलाई निर्देशन दिनुभएको छ। अनुसन्धानका निष्कर्षको प्रभावकारी उपयोग र प्रविधि हस्तान्तरण सुनिश्चित गर्न नीतिगत पहल गरिने उहाँले बताउनुभएको छ।

क्षेत्रीय निर्देशकका सुझाव र क्षेत्रगत अनुसन्धानका निष्कर्षका आधारमा कृषि अनुसन्धान प्रणाली पुनर्संरचना गरिने सभापति चौधरीको भनाइ छ। बैठकमा अनुसन्धान निकायका प्राथमिकता, जनशक्ति व्यवस्थापन, पूर्वाधार विकास र बजेट उपयोगबारे छलफल भएको थियो।

यो समाचार भिडियोमा

कृषि अनुसन्धान परिषद्को संरचना फेरिँदै, स्थानीय आवश्यकतामा केन्द्रित हुन निर्देशन

स्रोत

सम्बन्धित समाचार