त्रिशूली–बेत्रावती जोड्न अस्थायी ट्र्याक खोल्ने काम तीव्र

नुवाकोटको विदुरदेखि बेत्रावतीसम्म सडक जोड्न अस्थायी ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले सडक बगाएपछि करिब २८ दिनदेखि नुवाकोट र रसुवाबीचको सिधा सडक सम्पर्क टुटेको छ। रसुवागढी नाकासम्म सडक सुचारु गर्ने योजनाको पहिलो चरणमा यो काम भइरहेको छ।
सडक विभागअन्तर्गतको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले तिरतिरे भीरदेखि बेत्रावतीसम्म करिब २० वटा मेसिन लगाएर ट्र्याक खोलिरहेको छ। प्राविधिक टोलीले बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म काम गरिरहेको छ। योजनाका इन्जिनियरका अनुसार करिब २.२ किलोमिटरमा काम सकिएको छ भने करिब ८ सय मिटर बाँकी छ।
झन्डै एक सय मिटरको चट्टानी भाग मुख्य चुनौती बनेको छ। बाढीको भोलिपल्ट स्थलगत निरीक्षणपछि टोलीले पुरानै सडकबाट काम थाल्न खोजेको थियो। तर त्यहाँ करिब २० देखि ३० फिटसम्म लेदो थुप्रिएकाले ट्र्याक केही माथिबाट खोलिएको छ।
ट्र्याक खोल्न एकपटक ब्लास्टिङ पनि गरिएको छ। इन्जिनियरका अनुसार एक–दुई दिनभित्र ट्र्याक बेत्रावतीसम्म जोड्ने लक्ष्य छ। ट्र्याक जोडिएपछि बेत्रावतीतर्फ मेसिन र निर्माण सामग्री लैजान सजिलो हुनेछ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


