९ असोज २०८३ English
English

दुवै महाधिवेशनमा नजाने शेखर कोइरालाको घोषणा

· १ मिनेट पढाइ
दुवै महाधिवेशनमा नजाने शेखर कोइरालाको घोषणा
तस्बिर: नेपाल लाइभ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र घोषणा भएका दुवै महाधिवेशनमा सहभागी नहुने बताउनुभएको छ। बिहीबार दिउँसो अपिल जारी गर्दै उहाँले आफू मध्यमार्गी धारमै रहने स्पष्ट पार्नुभएको हो।

संस्थापन र इतर समूहले घोषणा गरेका दुवै महाधिवेशन स्थगन गरी विवेकपूर्ण समझदारीको बाटो खोज्नुपर्ने उहाँको माग छ। आसन्न दुई महाधिवेशनले देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पुग्ने पीडा रहेको उहाँले वक्तव्यमा उल्लेख गर्नुभएको छ। विभाजन अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न उहाँले कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ।

विरासतमा पाएको कांग्रेसको राजनीतिक पहिचान अहिले कमजोर बनेको भन्दै उहाँले पार्टी विभाजित र समुद्रमा गन्तव्य हराएको माझीजस्तै भएको टिप्पणी गर्नुभएको छ। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा परेको विपत्तिप्रति कांग्रेस संवेदनशील हुन नसकेको भन्दै उहाँले पार्टीको राष्ट्रिय दायित्वमाथि प्रश्न उठाउनुभएको छ। कांग्रेस हुनुमा गौरव गर्नेहरू मानसिक रूपमा कमजोर र निरीह हुन नहुने उहाँको भनाइ छ।

कांग्रेसको गौरवशाली इतिहास र संस्थापक नेता बीपी कोइरालालगायतको त्याग, निष्ठा तथा लोकतान्त्रिक आदर्श स्मरण गर्दै उहाँले पार्टी विभाजनप्रति दुःख व्यक्त गर्नुभएको छ। पार्टी एकता, सहमति र सहकार्यमार्फत मुलुकको राष्ट्रियता तथा लोकतान्त्रिक आन्दोलनलाई बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार