९ असोज २०८३ English
English

जापानमा २०औँ एसियाली खेलकुदको उद्घाटन, २१ खेलमा नेपालका १३५ खेलाडी

· १ मिनेट पढाइ
जापानमा २०औँ एसियाली खेलकुदको उद्घाटन, २१ खेलमा नेपालका १३५ खेलाडी
तस्बिर: क्लिकमाण्डू

जापानको आइची प्रिफेक्चर र नागोया सहरमा आज २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै छ। नागोयास्थित मिजुहो पार्क एथलेटिक्स रङ्गशालामा स्थानीय समयअनुसार साँझ ६ बजे समारोह सुरु हुनेछ। केही खेलका प्रतिस्पर्धा भने उद्घाटनअघि नै थालिइसकेका छन्।

असोज १८ गतेसम्म चल्ने प्रतियोगितामा ४३ खेल समावेश छन्। यसमा ४५ देश तथा क्षेत्र र एउटा शरणार्थी टोलीका खेलाडी भाग लिँदै छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताका अनुसार नेपालबाट २१ खेलमा ७८ पुरुष र ५७ महिला गरी १३५ खेलाडी सहभागी छन्।

प्रशिक्षक, व्यवस्थापक, प्राविधिक र चिकित्सा प्रतिनिधि जोड्दा नेपाली टोली २११ जनाको छ। छनोट प्रक्रियाका कारण खेलाडी सङ्ख्या घटेको मेहताले बताउनुभएको छ। सन् २०२३ को हाङ्झाउ संस्करणमा नेपालका २५३ खेलाडीले भाग लिएका थिए।

कबड्डीमा सबैभन्दा धेरै २४, क्रिकेटमा १५, भलिबलमा १२ र उसुमा १० खेलाडी छन्। उद्घाटनको मार्चपासमा बक्सर चन्द्रबहादुर थापामगर र कबड्डी खेलाडी मानमती विष्टले राष्ट्रिय झण्डा बोक्नुहुनेछ। थापामगरले दुबईमा आयोजित आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जित्नुभएको थियो।

विष्टकै नेतृत्वमा नेपाली महिला कबड्डी टोलीले हाङ्झाउमा कांस्य जितेको थियो। नेपाली दलले स्वर्ण पदकसहित दोहोरो अङ्कमा पदक सङ्ख्या पुर्‍याउने लक्ष्य लिएको छ।

स्रोत

सम्बन्धित समाचार