९ असोज २०८३ English
English

पृथ्वी राजमार्गमा आज राति सवारी आवागमन पूर्ण रूपमा बन्द

· १ मिनेट पढाइ
पृथ्वी राजमार्गमा आज राति सवारी आवागमन पूर्ण रूपमा बन्द
तस्बिर: सेतोपाटी

भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्गमा आज राति सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङको सूचनाअनुसार बिहीबार बेलुका ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म यो राजमार्गमा सबै प्रकारका सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। धादिङ र आसपासका क्षेत्रमा लगातार पानी परिरहेको र जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेकाले यो निर्णय गरिएको प्रशासनले जनाएको छ।

बाढी, पहिरो र डुबानबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति रोक्न र यात्रुको सुरक्षाका लागि राति आवागमन रोकिएको प्रशासनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले यात्रु र चालकलाई मौसम तथा सडकको ताजा अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह गर्नुभएको छ। जोखिम भएका ठाउँमा नजान र सुरक्षा निकायले दिने निर्देशन पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि पनि बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका अधिकांश स्थानमा मेघगर्जनसहित मध्यमसम्म वर्षाको सम्भावना छ। विभागले काठमाडौँमा आज वर्षाको सम्भावना ७० प्रतिशत रहेको जनाएको छ।

यो समाचार भिडियोमा

पृथ्वी राजमार्गमा आज राति सवारी आवागमन पूर्ण रूपमा बन्द

स्रोत

सम्बन्धित समाचार