विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयले काठमाडौँ महानगरपालिका–१४ का श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्ड नेतृत्वमा पुर्याएको हो। श्रेष्ठ नेपाल विज्ञापन संघका पूर्वअध्यक्षसमेत हुन्।
उनले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथपछि मन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारमा नतिजामुखी काम गर्न नवनियुक्त अध्यक्षलाई निर्देशन दिएका छन्।
बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ छ। विद्यमान कानुन तथा नियम कार्यान्वयन हुन नसक्नु अहिलेको प्रमुख चुनौती रहेको भन्दै मन्त्रीले बोर्डले आफ्ना कमजोरी पहिचान गरेर सुधार गर्नुपर्नेमा जोड दिएका छन्। बोर्डको औचित्य र स्वीकार्यता बलियो बनाउने स्पष्ट कार्ययोजनासहित अघि बढ्नुपर्ने पनि उनले बताएका छन्।
लोककल्याणकारी विज्ञापनको वितरण वस्तुनिष्ठ, पारदर्शी र विधिसम्मत हुनुपर्ने आवश्यकता उनले औँल्याएका छन्। यस्तो वितरणको पारदर्शितामाथि महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाउँदै आएको सन्दर्भ जोड्दै मन्त्रीले सार्वजनिक स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गर्न भनेका छन्। अध्यक्ष श्रेष्ठले विज्ञापनसम्बन्धी नीति, ऐन तथा कानुनको कार्यान्वयनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।
सुशासन र नागरिकलाई सहज सेवा प्रवाहलाई केन्द्रमा राखी सुधारको नयाँ कार्ययोजना बनाएर अघि बढ्ने उनको भनाइ छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


