एमाले स्थायी कमिटी: ओलीको एकतर्फी नाम प्रस्तावको विरोध, भण्डारीले भनिन् गणतन्त्र रक्षाका लागि फर्किएँ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र पोलिटब्युरोका सदस्यको नाम एकतर्फी रूपमा अघि सार्न खोजेपछि पार्टी बैठकमा नेताहरूले असहमति जनाएका छन्। च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा ओलीले नामावली सुनाउन लाग्दा सदस्यहरूले पहिले बोल्ने समय मागेका थिए। त्यसपछि ओलीले अरू नेतालाई बोल्न दिएका थिए।
वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष रघु पन्त, पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट, उपमहासचिव रघुवीर महासेठ, सचिव हिक्मत कार्की र राजन भट्टराई तथा स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले बैठकमा धारणा राख्नुभएको छ। सिधै नाम प्रस्ताव गर्दा विवाद निम्तिन सक्ने भएकाले पहिले निश्चित मापदण्ड बनाएर मात्र पोलिटब्युरो र कमिटीका सदस्य छान्नुपर्ने उनीहरूको धारणा छ। स्थायी कमिटीका अधिकांश सदस्यले बहुमतको बलमा मात्र पार्टी चलाउँदा चुनौती सामना गर्न कठिन हुने भन्दै सबै पक्षलाई समेटेर आन्तरिक एकता कायम गर्न अध्यक्षलाई सुझाव दिएका छन्।
पार्टी सचिव पद्मा अर्यालका अनुसार भण्डारीले देशमा लोकतन्त्र र संविधानमाथि खतरा देखिएकाले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दलीय राजनीतिमा फर्किएको बताउनुभएको छ। लोकतन्त्र ल्याउने दलहरूले नै त्यसको रक्षा गर्नुपर्ने धारणा भण्डारीले राख्नुभएको अर्यालले जनाउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


