९ असोज २०८३ English
English

महिला कबड्डीमा नेपाल चाइनिज ताइपेइसँग भिड्दै

· १ मिनेट पढाइ
महिला कबड्डीमा नेपाल चाइनिज ताइपेइसँग भिड्दै
तस्बिर: इमेजखबर

जापानमा जारी बीसौँ एसियाली खेलकुदको महिला कबड्डीमा नेपाल बुधबार चिनियाँ ताइपेइसँग भिड्दै छ। समूह ‘बी’ अन्तर्गतको यो खेल नेपाली समयअनुसार अपराह्न करिब साढे चार बजेदेखि सुरु हुनेछ। नेपाल रहेको समूहमा चिनियाँ ताइपेइ, श्रीलंका र थाइल्यान्ड छन्।

समूह चरणका खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलमा पुग्ने टोलीलाई कम्तीमा कांस्य पदक सुनिश्चित हुनेछ। चिनियाँ ताइपेइलाई हराए नेपालको सेमिफाइनल यात्रा थप सहज बन्ने भएकाले बुधबारको भिडन्त महत्त्वपूर्ण छ।

नेपालले समूह चरणको पहिलो खेलमा थाइल्यान्डलाई पराजित गर्दै विजयी सुरुआत गरेको थियो। समूहको अन्तिम खेलमा नेपाल बिहीबार श्रीलंकासँग खेल्नेछ। अर्को समूहमा इरान, भारत, बङ्गलादेश र जापान छन्।

चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। यसपटक पनि उक्त टोलीबाट पदकको अपेक्षा गरिएको छ। कबड्डीसँगै बुधबार नेपाली खेलाडीले पौडी, बक्सिङ, कराते, स्क्वास, टेबलटेनिस र उसुमा गरी सात खेलमा प्रतिस्पर्धा गर्ने कार्यक्रम छ।

नेपालको मुख्य ध्यान भने महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित छ।

यो समाचार भिडियोमा

महिला कबड्डीमा नेपाल चाइनिज ताइपेइसँग भिड्दै

स्रोत

सम्बन्धित समाचार