हवाई सेवा सम्झौता: साउदी वायुसेवालाई पोखरा र भैरहवा खुला

सरकारले साउदी अरबका वायुसेवा कम्पनीलाई पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने बाटो खुला गरेको छ। नेपाल र साउदी अरबबीच गत भदौ १५ गते द्विपक्षीय हवाई सेवा सम्झौतामा अन्तिम हस्ताक्षर भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यका अनुसार यो हस्ताक्षरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साउदी जहाज भित्रिने कानुनी आधार तयार पारेको छ।
‘हामीसँग पर्याप्त जहाज छैनन्, तर उहाँहरूसँग छन्,’ आचार्यले भन्नुभयो, ‘साउदी वायुसेवाले यी विमानस्थलमा उडान गर्न चाहे यो सम्झौताले सहजीकरण गर्छ।’ नेपाल र साउदी अरबबीच सन् १९९९ मै पहिलो द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो। नयाँ सम्झौताले हवाई सम्पर्क, पर्यटन, व्यापार, लगानी तथा दुई देशबीचको जनस्तरीय सम्बन्ध विस्तार हुने अपेक्षा मन्त्रालयले गरेको छ। नेपालले हालसम्म करिब ४२ मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ।
यसअघिका सम्झौता स्विट्जरल्यान्डसँग सन् २०२४ मा र रुवान्डासँग सन् २०२३ मा भएका थिए।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


