९ असोज २०८३ English
English

त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाउन रोक

· १ मिनेट पढाइ

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा वरपरका क्षेत्रमा चङ्गा, ड्रोन, बेलुनलगायतका वस्तु उडाउन तथा विमानतर्फ लेजर बत्ती सोझ्याउन रोक लगाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सार्वजनिक सूचना निकाल्दै हवाई उडानको सुरक्षालाई मध्यनजर गरी यो निषेध गरेको छ। सूचनाअनुसार यो रोक विमानस्थल परिसरका साथै हवाई आवागमन हुने आसपासका क्षेत्रमा पनि लागू हुन्छ।

त्यस्ता क्षेत्रमा यी वस्तु उडाइँदा विमानको सुरक्षित उडानमा गम्भीर खतरा आउन सक्ने कार्यालयले जनाएको छ। विमानतर्फ लेजर बत्ती देखाउने कार्यलाई पनि कार्यालयले उडान सुरक्षामा गम्भीर जोखिम निम्त्याउने गतिविधिका रूपमा औँल्याएको छ। कार्यालयले सर्वसाधारणका साथै सम्बन्धित व्यक्ति तथा संघसंस्थालाई विमानस्थल वरपर यस्ता क्रियाकलाप आफैँ नगर्न तथा अरूलाई पनि गर्न नलगाउन आग्रह गरेको छ।

प्राधिकरणको निर्देशन तथा सूचनाको अवज्ञा गर्दै कसैले चङ्गा, ड्रोन वा बेलुन उडाएको वा विमानतर्फ लेजर सोझ्याएको पाइए प्रचलित कानुनबमोजिम कडा कारबाही हुने कार्यालयले चेतावनी दिएको छ। कार्यालयका अनुसार विमानको सुरक्षित आवागमन सुनिश्चित गर्न विमानस्थल आसपास उडानमा असर पार्न सक्ने जुनसुकै गतिविधिमाथि नियन्त्रण आवश्यक छ।

स्रोत

सम्बन्धित समाचार