९ असोज २०८३ English
English

एमाले बैठकमा कार्यदलको प्रतिवेदन पेस गर्न माग, कार्यशैलीमाथि प्रश्न

· १ मिनेट पढाइ
एमाले बैठकमा कार्यदलको प्रतिवेदन पेस गर्न माग, कार्यशैलीमाथि प्रश्न
तस्बिर: नागरिक

नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमै पेस गरी छलफल गर्नुपर्ने माग उठेको छ। बैठकको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा झपट रावल, कृष्णभक्त पोखरेल, ठाकुर गैरे र कर्ण थापालगायतले उक्त प्रतिवेदन केन्द्रीय सदस्यलाई वितरण गर्न माग गर्नुभएको हो। महासचिव शंकर पोखरेलले तयार पार्नुभएको उक्त प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा प्रश्न उठेको नेता कृष्णभक्त पोखरेलले बताउनुभएको छ।

केन्द्रीय सदस्य ठाकुर गैरेले स्पष्ट कार्ययोजनासहित नेतृत्व हस्तान्तरणको समय तोक्नुपर्ने र अध्यक्षको प्रतिवेदन पुनर्लेखन गरी एकीकृत बनाउनुपर्ने माग राख्नुभएको छ। झपट रावलले आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको भन्दै सामूहिक र संस्थागत प्रणाली अपनाउनुपर्नेमा जोड दिनुभएको छ। अग्नि खरेलले प्रतिवेदनलाई केन्द्रीय समितिबाटै टुङ्ग्याउनुपर्ने र खिमलाल भट्टराईले प्रतिवेदनका सुझाव तथा सिफारिस निर्णय गरेर कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभएको छ।

नेता नरेश रोकाले प्रतिवेदन बैठकमा पेस नगरिएकोमा असन्तुष्टि जनाउँदै नेतृत्व हस्तान्तरण र पुस्तान्तरणसहितको रूपान्तरण आवश्यक रहेको बताउनुभएको छ। अर्कातर्फ केन्द्रीय सदस्य ऋषिकेश पोखरेलले अध्यक्षकै प्रतिवेदनमा कार्यदलका विषय समेटिएको दाबी गर्नुभएको छ। केन्द्रीय सदस्य इन्द्रप्रसाद भण्डारीले पुनर्गठन र समीक्षाकै नाममा कार्यकर्ता विभाजित बनाइएको टिप्पणी गर्नुभएको छ।

सचिव महेश बस्नेतले भने बैठकमा अध्यक्ष परिवर्तन वा विशेष महाधिवेशनको विषय नउठेको र छलफल पार्टी पुनर्संरचनामै केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ।

यो समाचार भिडियोमा

एमाले बैठकमा कार्यदलको प्रतिवेदन पेस गर्न माग, कार्यशैलीमाथि प्रश्न

स्रोत

सम्बन्धित समाचार