प्रधानमन्त्री शाहको जेनजी सांसदहरूसँग अन्तरक्रिया, प्रविधि र युवा रोजगारीमा छलफल

प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूसँग आज सिंहदरबारमा विशेष अन्तरक्रिया गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफलमा प्रविधि र युवा रोजगारीलाई मुख्य कार्यसूचीका रूपमा राखिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा नवीनतम प्रविधिको प्रयोग र डिजिटल सुशासनका विषयमा विचार आदानप्रदान भएको छ।
युवा स्वरोजगारका उपाय र स्टार्टअप नीतिबारे पनि दुवै पक्षबीच छलफल भएको छ। प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा पनि छलफलका विषयमा परेको सचिवालयले जनाएको छ। वातावरणीय सन्तुलन कायम राख्दै दिगो विकासका लक्ष्य पूरा गर्ने उपायमा समेत प्रधानमन्त्री र युवा सांसदबीच कुराकानी भएको छ।
प्रत्यक्ष संवादका क्रममा यी क्षेत्रमा नीतिगत सुधारका विषयमा सरकार र नयाँ पुस्ताका जनप्रतिनिधिबीच धारणा साटासाट भएको बताइएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अफ्साना बानुले जेनजी उमेरका सांसदसँग मात्र छलफल गरिएकोमा असन्तुष्टि जनाउनुभएको छ। जेनजी आन्दोलनबाट उदाउनुभएकी सांसद बानुले सुरुदेखि नै जेनजीका माग उठाउँदै आएका सांसदहरूलाई पनि छलफलमा बोलाउन आग्रह गर्नुभएको छ।
जेनजीका माग सम्बोधन गर्न जेनजी उमेर समूहका सांसदसँग मात्र होइन, ती माग निरन्तर उठाउँदै आएका सांसदसँग पनि बैठक बस्नुपर्ने होइन र भन्दै उहाँले प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


