९ असोज २०८३ English
English

राष्ट्रियसभा: विपद्अघि नै तयारी गर्न र बाढीपीडितलाई छिटो राहत दिन माग

· १ मिनेट पढाइ
राष्ट्रियसभा: विपद्अघि नै तयारी गर्न र बाढीपीडितलाई छिटो राहत दिन माग
तस्बिर: नागरिक

राष्ट्रियसभामा आज नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक कमला पन्तले विपद् आउनुअघि नै पूर्वतयारी गर्न र पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभएको छ। विपद् आएपछि मात्र उद्धारमा जुट्ने परम्परा अन्त्य गरी जोखिम न्यूनीकरणलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ। नागरिकको सुरक्षा राज्यको प्रमुख दायित्व भएको पन्तले बताउनुभएको छ।

जलवायु परिवर्तनसँगै हिमनदी र हिमतालमा आएको फेरबदलले खेती, खानेपानी, जलविद्युत् र तल्लो तटीय भेगका बासिन्दामा सीधा असर पर्ने उहाँले बताउनुभएको छ। यस्तो परिवर्तनले बाढी र पहिरोको खतरा बढाएकाले सडक, पुल र जलविद्युत् आयोजनामा पर्ने जोखिमको पनि लेखाजोखा हुनुपर्ने पन्तको भनाइ छ। जलवायु परिवर्तनलाई वातावरण मन्त्रालयको मात्र जिम्मा नठानी अर्थ, ऊर्जा, कृषि, पर्यटन, पूर्वाधार र स्थानीय सरकारसँग जोडेर हेर्नुपर्ने उहाँको धारणा छ।

उहाँले जल तथा मौसम विज्ञान विभागको क्षमता बढाई पूर्वसूचनालाई स्थानीय तहमार्फत नागरिकको घरदैलोसम्म पुर्‍याउन माग गर्नुभएको छ। यसैगरी नेकपा एमालेकी राष्ट्रियसभा सदस्य मीनासिंह रखालले भोटेकोशी नदीमा आएको बाढीका प्रभावितलाई तुरुन्त राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ। उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुनु, बजेटको असन्तुलन, कानुन अपुग हुनु, भ्रष्टाचार र ठेकेदारको लापरबाहीले सङ्घीयताको मूल भावनामा चोट पुगेको बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार