चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन परिवारले पाए लालपुर्जा

चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाण पुर्जा अर्थात् लालपुर्जा वितरण गरिएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयले यसको जानकारी दिएको छ। चितवनको इच्छाकामना गाउँपालिका-७ मा ३२ भूमिहीन सुकुम्बासी र एक भूमिहीन दलित परिवारले पुर्जा पाएका छन्।
रुपन्देहीको गैडहवा गाउँपालिका-८ र ९ का १६ भूमिहीन परिवारलाई प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसहितको टोलीले पुर्जा हस्तान्तरण गरेको छ। गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल र प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मी पनि वितरणमा सहभागी हुनुहुन्थ्यो। जिल्ला भूमि समस्या समाधान समितिले काम थालेपछि रुपन्देहीमा भूमिहीन दलितले पुर्जा पाएको यो पहिलो पटक भएको अर्यालले बताउनुभएको छ।
उहाँका अनुसार जिल्लामा १० हजार भूमिहीन सुकुम्बासी र ७२ हजार अव्यवस्थित बसोबासी सूचीकृत छन्। गाउँपालिका अध्यक्ष पौड्यालका अनुसार गैडहवाले यस कामका लागि हरेक वर्ष एक करोड रुपैयाँ छुट्याउँदै आएको छ। गाउँपालिकामा ४ हजार ५०० भूमिहीन तथा अव्यवस्थित बसोबासी सूचीकृत छन्।
झापाको अर्जुनधारा नगरपालिका-११ मा लामो समयदेखि अव्यवस्थित रूपमा बसेका सात परिवारले पुर्जा पाएका छन्। चार दशकदेखि जग्गाको स्वामित्व नपाएका उनीहरू अब कानुनी रूपमा जग्गाधनी बनेका छन्। जिल्ला भूमि समस्या समाधान समिति झापाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले समर्पित टोली बनाएर पुर्जा वितरणलाई तीव्रता दिइने बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


