असोज ८ र ९ गते विद्यालय बिदा, परीक्षा पनि स्थगित

शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको छ। मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरेको हो। जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा विज्ञहरूको पूर्वानुमानअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको मन्त्रालयले जनाएको छ।
यस अवधिमा बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा अवरोध आउन सक्ने उल्लेख छ। मन्त्रालयले सबै विश्वविद्यालय र परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९ देखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न आग्रह गरेको छ। सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आए स्थानीय तहलाई सहजीकरण गर्न पनि भनिएको छ।
अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन मन्त्रालयले अनुरोध गरेको छ। सोही सूचनामार्फत मन्त्रालयले शिक्षण संस्था र स्थानीय तहका लागि चार बुँदे निर्देशन जारी गरेको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले असोज ८ र ९ गते आफूअन्तर्गतका सबै विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


