सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा आठ उजुरी

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा आठ वटा उजुरी परेका छन्। समितिका अनुसार उजुरीको यो सङ्ख्या शुक्रबारसम्मको हो। समितिले प्रस्तावित न्यायाधीशबारे कसैको गुनासो भए पेस गर्न कात्तिक ९ गते आह्वान गरेको थियो।
उजुरी दिने म्याद कात्तिक १९ गतेसम्म भएकाले सङ्ख्या अझै बढ्न सक्ने समितिले जनाएको छ। असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा कार्यरत चार न्यायाधीशलाई सर्वोच्चमा लैजान सिफारिस गरेको थियो। सिफारिसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको नाम छ।
उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू र सोही अदालतको हेटौंडा इजलासका न्यायाधीश जनक पाण्डे पनि सिफारिसमा पर्नुभएको छ। चौथो नाम गोकर्ण डाँगीको हो, जो यसअघि उच्च अदालत जनकपुरको वीरगञ्जस्थित अस्थायी इजलासमा न्यायाधीश हुनुहुन्थ्यो। उजुरीको अध्ययन सकेपछि समितिले सिफारिसमा परेका चारै जनाको कार्ययोजना सुन्नेछ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


