९ असोज २०८३ English
English

संविधान संशोधन राष्ट्रिय सहमतिबाटै: दाहाल र भट्टराईको धारणा

· १ मिनेट पढाइ
संविधान संशोधन राष्ट्रिय सहमतिबाटै: दाहाल र भट्टराईको धारणा
तस्बिर: थाहाखबर

संविधानका आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिने राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताउनुभएको छ। संविधान दिवसका अवसरमा राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै उहाँले संविधान अपरिवर्तनीय दस्तावेज नभएको उल्लेख गर्नुभयो। जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिताजस्ता आधारभूत सिद्धान्तबाहेक संविधानका अन्य विषय परिवर्तनशील रहेको उहाँको भनाइ छ। संविधान कार्यान्वयनको यस अवधिको समीक्षा गरेर संशोधनमा जान सकिने र यस्तो गहन विषयमा राष्ट्रिय सहमति तथा एकताको वातावरण बन्नुपर्ने उहाँले बताउनुभयो।

संशोधनको मूल थलो संसद् नै हुनुपर्ने दाहालको धारणा छ। सरकारले राजनीतिक दलका प्रतिनिधिसमेत सहभागी गराएर संविधान संशोधनका विषयमा बहसपत्र तयार गर्न कार्यदल बनाएको उल्लेख गर्दै उहाँले संशोधनको उद्देश्य स्पष्ट हुनुपर्ने बताउनुभयो। सरकारको ध्येय स्पष्ट नभएको भन्दै केही दल कार्यदलबाट बाहिरिएको विषय पनि उहाँले उठाउनुभयो।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतान्त्रिक उपलब्धिमा टेकेर राष्ट्रिय सहमति जुटाई संविधान संशोधन गर्नु उपयुक्त हुने बताउनुभएको छ। संशोधन गर्दा त्यसको मूल जग कमजोर पार्न नहुने र रिस तथा आवेगमा संविधानका सबै कुरा चलाउँदा प्राप्त उपलब्धि गुम्न सक्ने उहाँको चेतावनी छ। शासकीय प्रणाली, सङ्घीयताको सीमाना र नामाङ्कन तथा न्यायालयको संरचनालगायत विषयमा अपूर्णता रहेको उहाँले औँल्याउनुभयो।

यो समाचार भिडियोमा

संविधान संशोधन राष्ट्रिय सहमतिबाटै: दाहाल र भट्टराईको धारणा

स्रोत

सम्बन्धित समाचार