नयाँ वैज्ञानिक अध्ययन: भदौ १० को बाढीमा जलवायु परिवर्तनको ठूलो भूमिका

गत भदौ १० गते रसुवाको लाङटाङ क्षेत्रमा भएको विनाशकारी विपद्मा मानवसिर्जित जलवायु परिवर्तनको ठूलो भूमिका रहेको नयाँ वैज्ञानिक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय अनुसन्धान समूह वर्ल्ड वेदर एट्रिब्युसनले बिहीबार सार्वजनिक गरेको अध्ययनअनुसार लाङटाङ लिरुङको करिब ५ हजार १५० मिटर उचाइमा रहेको ठूलो चट्टानी भाग हिमनदीको केही हिस्सासहित भत्किएको थियो। अध्ययनका अनुसार चट्टान र हिउँ करिब १ हजार ४ सय मिटर तल खस्दा करिब ५.२ म्याग्निच्युड बराबरको भूकम्पीय कम्पन मापन भएको थियो।
चट्टान र बरफको उक्त पहिरो तीव्र गतिमा मलबे बाढीमा परिणत हुँदै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म पुगेको निष्कर्ष छ। सोही अध्ययनका अनुसार बाढी घटनास्थलबाट रसुवागढीसम्म करिब सात मिनेटमै पुगेको थियो भने त्यसको गति प्रतिघण्टा करिब १८८ किलोमिटरसम्म रहेको थियो। अध्ययनकी सहलेखिका तथा इम्पेरिअल कलेज लन्डनकी जलवायुविज्ञ डाक्टर फ्रिडेरिके ओटोका अनुसार मानवका कारण बढेको तापक्रमले हिमाली क्षेत्रको पर्माफ्रस्ट अर्थात् अत्यधिक चिसोले जमेको भूमि पगालेको छ।
जुलाई र अगस्टमा सो क्षेत्रको तापक्रम सामान्यभन्दा करिब १.५ डिग्री सेल्सियस बढी रहेको र हिमनदीहरू प्रतिवर्ष करिब आधा मिटरका दरले पातलिँदै गएको अध्ययनमा उल्लेख छ। बढ्दो तापक्रम, पातलिँदै गएका हिमनदी र पहिलेदेखिकै भौगर्भिक दुर्बलता मिसिएर यो विपद् मिश्रित घटनाका रूपमा देखिएको अध्ययनको निष्कर्ष छ। विभिन्न विधाका करिब २४ जना अन्तर्राष्ट्रिय वैज्ञानिक संलग्न सो अध्ययनले २०७२ सालको भूकम्पले चट्टानी संरचनालाई कमजोर बनाएको र त्यो पनि सहायक कारण हुन सक्ने औंल्याएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


