एसियाली खेलकुद जुडो: पदकको आशा गरिएकी पुनम श्रेष्ठ पहिलो चरणमै बाहिरिइन्

जापानमा जारी २०औँ एसियाली खेलकुदमा पदकको आशा गरिएकी नेपाली जुडो खेलाडी पुनम श्रेष्ठ पहिलो चरणमै पराजित भएकी छन्। आइची अन्तर्राष्ट्रिय एरिनामा बिहीबार भएको महिला ७० केजीमुनिको खेलमा उनी भारतकी ताखेलाम्बाम इनुन्गान्बीसँग इप्पोनका आधारमा हारेकी हुन्। दक्षिण एसियाली खेलकुदको १३औँ संस्करणमा स्वर्ण जितेकी पुनम नेपाली जुडोकी सबैभन्दा अनुभवी खेलाडी मानिन्छिन्।
झन्डै दुई वर्षभन्दा लामो चोटपछि मैदान फर्किएकी उनका लागि पुनरागमनपछिको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। चोटका कारण पुनमको वरीयता थिएन भने प्रतिद्वन्द्वी इनुन्गान्बी ४५औँ वरीयतामा छिन्। यो हारसँगै नेपालले भाग लिएका सात विधामध्ये पाँचमा पराजय बेहोरेको छ।
बुधबार मात्रै चार नेपाली खेलाडी आ-आफ्नो पहिलो खेलमै पराजित हुँदै बाहिरिएका थिए। महिला ४८ केजीमुनिमा निशा श्रेष्ठ हङकङकी वङ का लीसँग र ५२ केजीमा देवकीमाया श्रेष्ठ भियतनामकी थि नगान हासँग पराजित भएकी थिइन्। पुरुषतर्फ विशेष विक हङकङका वङ का कीसँग तथा विकास विक उज्बेकिस्तानका सामरिद्दिन कुचकारोभसँग हारेका थिए।
नेपाली जुडो खेलाडीले यस खेलकुदमा अहिलेसम्म एउटा पनि खेल जित्न सकेका छैनन्। पुरुष ९० केजीमुनि तौल समूहमा सुजन गुरुङको खेल पनि आजै तय भएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


