११ कात्तिक २०८३ English
English

झापा र भरतपुरमा भूमिहीनलाई लालपुर्जा छिटो दिन माग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
झापा र भरतपुरमा भूमिहीनलाई लालपुर्जा छिटो दिन माग

YouTube मा सब्स्क्राइब

झापामा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण सुस्त भएकाले त्यसलाई तीव्र बनाउन जनप्रतिनिधिले जोड दिनुभएको छ। जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य शम्भु सुस्केरा ढकालले सरकारले अध्यादेश ल्याइसकेपछि पनि काम किन ढिला भयो भनी प्रश्न गर्नुभएको छ। उहाँले ढिलाइको कारण पत्ता लगाएर समाधान खोज्नुपर्ने बताउनुभएको छ।

दशकौँदेखि पुर्जा कुरिरहेका नागरिकलाई छिटो पुर्जा दिनुपर्ने उहाँको माग छ। क्षेत्र नम्बर ३ का सांसद प्रकाश पाठकका अनुसार तोकिएको समयसीमाभित्र २१ प्रतिशत पुर्जा बाँडिसक्नुपर्नेमा हालसम्मको प्रगति एक प्रतिशत पनि पुगेको छैन। पाठकले यो अवस्थालाई विडम्बनापूर्ण भन्नुभएको छ।

यता चितवनमा भरतपुर महानगरपालिका–१४ का भूमिहीन नागरिक लालपुर्जा माग्दै महानगर पुगेका छन्। वर्षौँदेखि बसिरहेको जग्गामा कानुनी स्वामित्व नहुँदा आवास र भविष्यबारे ढुक्क हुन नसकेको उनीहरूको गुनासो छ। आश्वासन मात्र होइन, नतिजा देखिने गरी काम गर्न उनीहरूले महानगरसँग आग्रह गरेका छन्।

स्रोत

सम्बन्धित समाचार